एक घर एक नर्सको नीति राज्यले बनाउनु पर्छ

एक घर एक नर्सको नीति राज्यले बनाउनु पर्छ
 एलिना रसाईली,

नर्स छोरीलाई नर्स पढाउनु जागिरका लागि मात्र होइन । उनीहरुले परिवार र समाज नै स्वस्थ राख्न सक्छन् । प्रत्येक परिवारमा एउटी छोरीलाई नर्स पढाउँदा आगामी पुस्ताको जीवन स्वस्थ हुन सक्छ । किनकी एउटी आमा शिक्षित र स्वस्थ भइन् भने भावि सन्ततिहरु निरोगी र असल नागरिक बन्छन् । त्यसैले देश सुधार्ने हो भने छोरीलाई नर्सिङ्ग शिक्षा पढाउन राज्यलेनै लगानी गर्नुपर्छ । एक घर एक नर्सको नीति राज्यले बनाउनु पर्छ । अनि मात्र स्वस्थ र सभ्य समाजको निर्माण हुन्छ । अहिलेको विकसित समाजमा नर्सिङ्ग सेवालाई अस्पतालमा मात्र सिमित राखिनु हुँदैन । विद्यालय, उद्योग कलकारखानासम्म सेवा विस्तार गर्नुपर्छ । नर्सको ब्यक्तिगत जीवन हुँदैन भन्दा कुनै फरक नपर्ला । किनकी बिहान सवेरैदेखि राती अवेरसम्म बिरामीकै सेवामा तल्लिन हुनुपर्छ । आफ्नो ऊर्जावान् उमेरदेखि पूरै जीवन बिरामीको सेवा गरेर रमाउनुपर्छ । साथीभाईलाई समय दिने कुरा त परै छाडौं घरपरिवारलाई समय दिन सक्ने अवस्था हुँदैन । नर्सिङ जागिरमा प्रवेश गरेकाहरुले बिरामीको २४ सै घण्टा सेवा गरी प्रशंसनीय काम गरेका छन् । भनिन्छ, वार्डमा प्रथम डाक्टर भनेकै नर्स हुन् । उनीहरुले बिरामीको हरेक पलको अवस्था रेकर्ड गर्नुपर्छ । अनि समय समयमा नीहरुको स्वास्थ वारे हेरविचार गर्नुपर्छ । दिनरात नभनी उनिहरु खटिरेका हुन्छन् । रातभरको थकाइ, धपेडी र तनावले आफै बिरामी परिएला भन्ने डर हुन्छ । तैपनि उनीहरु आफ्नो जिम्मेवारीवाट पछि हट्दैनन् । सेतो कुर्था सुरुवालले नर्स जाति शान्त र प्रिय देखिन्छिन् उनीहरुले बिरामीलाई गर्ने व्यवहार त्यतिनै प्रिय हुन्छ । यसरीनै बिरामीहरुको वरिवपरी घुमिरहनु नर्सहरुको दैनिक हो । नर्स नर्सिङ पढाइ सकेपछि जागिरको लागि अस्पतालको ढोका छिर्दा जागिर भन्दा पनि समाजप्रतिको जिम्मेवारी थपिएको महसुस हुन्छ । बिरामीले भन्छन्– तपाईहरु त बिरामी नै पर्नुहुन्न होला है । उनीहरुको हामी प्रति देखाएको आस्था र सद्भावले थप हर्षित हुन्छौं र बेडमा बिरामले छटपटाइरहेका बिरामीको घाउँमा मल्हम लगाउँछौ । बिरामीलाई अस्पताल पुगेपछि पहिलो उपचार गर्ने भनेकै नर्स हुन्, त्यसैले उनीहरुले आफ्नो पेशा प्रति देखाएको अठोटलाई मर्न दिनुहुँदैन । नर्सहरु एक चक्की सिटामोल खान नपाएका दुरदराजमा पुगेका छन्, सेवा दिइरहेका छन् । सायद नर्सहरुको मात्र त्यस्तो जागिर हो, जसले निदाउन पाउदैन । जसले सुगम र दुर्रगम भन्न पाउदैन । युद्ध, महामारी तथा दैविक प्रकोपमा उनीहरुको खटाई प्रशंसनीय हुन्छ । एउटा नारीले गरेको यो हिम्मत र साहसलाई सलाम गर्नुपर्छ । नयाँ पुस्ताका नर्सहरुले शहरमा जागिर खोज्नुभन्दा ग्रामिण क्षेत्रका अस्पताल र संघ संस्थामा सेवा गर्न जानुपर्छ किनकि असली सेवा त्यहाँका मान्छेलाई बुझेका हुन्छ र असली सम्मान पनि त्यहीँ पाइन्छ । शहरमा स्वास्थकर्मीकोहरुको सम्मान र सुरक्षा त्यति पाइदैन । कहिलेकाहिँ बिरामीका आफन्तको कुटाई समेत नर्सले खानुपरेको छ । शहरका नीजि अस्पतालले नर्सहरुलाई न्यूनतम तलबमा काम लगाई रहेका छन् । यो समस्या देशका मुख्य ब्यपारिक केन्द्रका नीजि स्तरबाट खोलिएका अस्पतालहरुको हो । लाखौं लगानी गरेर पढेका नर्सले कम तलब हुने भएकाले धेरै अस्पताल चहार्नु बाध्यतानै बनेको छ । सरकारी तथा गैर सरकारी संस्थाहरुमा जस्तै नर्सहरुको कार्यस्थलमा पनि महिला हिंसा खेपिरहेका हुन्छन् । उनीहरुको कुरा कमै मात्र सुनुवाई हुन्छ । पुरुषहरुले झुटै कुरा बोलेपनि ब्यवस्थापनले सुन्छ तर नर्सहरुले साँचो कुरा गरेपनि त्यति सुनुवाई हुँदैन । अस्पतालको वातावरणमा पुरुषहरु बढी संगठित हुन्छन् । कुनै समस्या आई हाल्यो भने उनिहरु एकै छिनमा समाधान गर्छन् । तर, दिनरात बिरामीको सेवामा खटिने नर्सहरु केही लान्छना लगाइहाल्छन् कि भनेर त्राहीमाम हुन्छन् । किनकी कुनै ठूलो घटना घटि हाल्यो भने अस्पतालले नर्सलाई दोषी देखाएर अघि सार्छ र गल्ती अरु कसैले गर्दा पनि दोष नर्सलाई जान्छ । यो समस्या देशभरका नर्सको हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार सामान्यतः सघन उपचार कक्ष (आईसीयु)मा एक बिरामी बराबार एक जना नर्स हुनुपर्छ । अस्पतालको सेवा सिफ्टका हिसाबले तीन सिफ्ट हुँदा तीन जना नर्स चाहिन्छ । त्यसैगरी शल्यकक्षमा एक बिरामी बराबर तीन, वार्डमा पाँच बिरामी बराबर एक नर्स हुनुपर्छ । तर नेपालका सरकारी अस्पतालका वार्डमा एक नर्सले २५ जनासम्म बिरामी हेर्नुपर्ने अवस्था छ । नर्स पढेनेहरुका लागि मुलुक भित्र रोजगारीको वातावरण सिर्जना गर्नुपर्र्छ । मुलुकको अस्थिर राजनीति ब्यवस्थाका कारण योग्य र सक्षम नर्सहरु विदेश पलायन भइरहेका छन् । विकसित देशहरुमा नर्सको मान सम्मान र गरिमा उच्च छ । उनीहरुलाई काम र दामको कुनै खाँचो हुँदैन । नेपाली नर्सहरुको पिडा दर्दनाक छ । लाखौं खर्चसँगै मेहेनतले आर्जन गरेको सीप र दक्षता भोलेन्टियर जागिरमा विताउन बाध्य छन् । नर्सहरुका लागि मेवा विनाको सेवा हैन सम्मान र पेशागत सुरक्षाको खाँचो छ । तर, राज्य जिम्मेवार देखिदैन बरु मेडिकल कलेज माथि राजनीति हुन थालेको छ । विद्यार्थीहरु मनपरी शुल्कको मारमा परेका छन । मेडिकल क्षेत्रमा देखिएको यो मनपरितन्त्र माथि अख्तियारको आँखा पर्नुपर्छ । पछिल्लो तथ्यांक हेर्ने हो भने नर्सिङ्ग काउन्सिलमा दर्ता भएका नर्सहरु ३७ हजार ६ सय ५२ जना छन् भने एएनएम २५ हजार ३ सय ९८ जना , बिदेशी नर्स ८ सय ११ गरि जम्मा ६३ हजार ८ सय ६१ जना महिला स्वास्थकर्मी रहेका छन् । यो जनशक्तिलाई नेपालमै सेवा गर्ने वातावरण राज्यले बनाउनु पर्छ । लाखौं खर्च गरेर पढेका नर्सहरुको लाइसेन्स विदेश जानका लागि मात्र प्रयोग गरिनु हुँदैन । यसका लागि नर्स पढेका र नर्सको जागिर गरिरहेकाहरुलाई सरकारले नै प्रोत्साहन गर्नुपर्छ । जुन कलेजमा नर्सिङ्ग पढाई हुन्छ, पास भएका विद्यार्थीहरुलाई ती कलेजहरुले नै रोजगारीको ग्यारेन्टी गर्न सक्नुपर्छ । 
                                                                                                              (श्रोत: स्वास्थ्य खबर पत्रिका)

Comments

Popular posts from this blog